एक वर्षमा संविधान दिन कांग्रेस–एमाओवादीबीच सहमति
मंसिर २३ । नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी) एक वर्षभित्र संविधान निर्माण गर्न सहमत भएका छन् ।
दुई पार्टीबीच आज एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको थियो। छलफलमा काँग्रेसले एमाओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन र जनताको मतलाई स्वीकार गर्न आग्रह गरेको थियो । एमाओवादीले ‘संविधानसभा निर्वाचनका सम्बन्धमा देखिएका धाँधली तथा नीतिगत कमजोरी’को छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको थियो ।
एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टी शान्ति र संविधानको पक्षमा नै छ भन्दै ‘निर्वाचनमा भएको र गरिएको संरचनागत, नीतिगत र संस्थागत धाँधली’को छानबिन गर्न माग गरेका हुन ।
एमाओवादीको मागमा कांग्रेसले सबै विषयलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिने बताएको कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
‘हामीले संविधान निर्माणमा सहयोग गर्न एमाओवादीलाई आग्रह ग¥याँै, एमाओवादीले धाँधलीलगायत विषयमा छानबिन गर्न माग गरेको छ,’ उनले भने ‘तैपनि वार्ता सकारात्मक नै रह्यो ।’
दुई दलबीच खुलेर कुराकानी भएको र समस्या समाधानका लागि दुवै दल लचक भएको पौडेलले बताए ।
दुई दलबीच पुनः छलफल जारी राख्ने विषयमा पनि सहमति भएको छ । सो छलफलमा काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव तथो एमाओवादीबाट अध्यक्ष दाहाल, नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सहभागी थिए।
शनिबार काँग्रेस र नेकपा(एमाले)बीच भएको छलफलमा आज दुवै दलले एमाओवादीसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय भएको थियो । यसैबीच एमाओवादी र नेकपा(एमाले)का शीर्ष नेताबीच छलफल भर्खरै सुरु भएको छ । रासस
प्रकाशित मिति:
December 08, 2013