निर्णायक छलफलका लागि तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक गोकर्णमा सुरु
राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीका विषयमा दलहरूबीच गम्भीर मतभेद रहँदै आएको छ । संविधानका अन्तरवस्तुमा सहमति खोज्ने सन्दर्भमा यो बैठक निर्णायक सावित हुने विश्वास गरिएको छ ।
संविधान जारी गर्ने आगामी माघ ८ गतेको समयसीमालाई प्रभावित नहुने गरी सहमति खोजिने प्रमुख दलका नेताहरूले प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
संविधानसभा मातहतको संवैधानिक राजनीति संवाद तथा सहमति समितिले संविधान लेखनको क्रममा दलहरूबीच देखिएका अन्य विवादलाई भने सुल्झाएको थियो ।
संविधान लेखनका दृष्टिकोणले अत्यन्त महत्व राख्ने यी विषयलाई सहमतिमा परिणत गर्न आवश्यक परेको खण्डमा आवासीय छलफलसमेत गरेर कुनै न कुनै निष्कर्षमा पुग्ने बताइरहेको बेलामा गोकर्ण बैठकलाई अत्यन्त चासोका साथ हेरिएको छ ।
अघिल्लो गोकर्ण बैठकपछि प्रमुख दलका शीर्ष नेताहरूबीच हार्दिकता बढेको विश्वास गरिएको छ ।
प्रकाशित मिति:
October 21, 2014