तरकारीखेती गर्नेलाई ६० हजार अनुदान
सर्लाही, ३ कात्तिक । व्यावसायिक तरकारी खेतीमा युवालाई आकर्षित गर्न जिल्ला कृषि विकास कार्यालय सर्लाहीले हरेकलाई रु ६० हजार अनुदान दिने भएको छ ।
युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ६० जना युवायुवतीलाई व्यावसायिक तरकारीखेती गर्न रु ६० हजारको दरले अनुदान प्रदान गरिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीले बताए ।
अनुदान प्राप्त गर्न कम्तीमा पनि एक बिगाहा जमिनमा वर्षमा दुई पटकसम्म तरकारी उत्पादन गरेको हुनुपर्ने कार्यालयले जनाएको छ । एक मौसममा तरकारी र अर्को मौसममा अन्नबाली लगाउने किसानले भने अनुदान नपाउने कार्यालयले जनाएको छ ।
अनुदान प्राप्त गर्न चाहने किसानले जिल्ला कृषि विकास कार्यालय मलङ्गवामा आगामी कात्तिक २७ गतेभित्र निवेदन दिइसक्नुपर्ने बताइएको छ । निवेदन सङ्कलन भएपछि किसानले गरेको व्यावसायिक तरकारी खेतीको अनुगमन गरेर अनुदान प्रदान गरिने छ ।
वर्षैभरि व्यावसायिक तरकारीखेती गर्ने किसानलाई बीउबिजन, किटनाशक औषधि, मलखाद खरिद गर्न टेवा पुगोस् भन्ने उद्देश्यले सरकारले सर्लाहीसहित विभिन्न जिल्लाका किसानलाई अनुदान दिन लागेको हो ।
प्रकाशित मिति:
October 20, 2014