यो विषयमा प्रचण्ड किन चुप ?
काठमाडौं १३ मंसिर । सत्ता साझेदार दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो पटक तीन महिनादेखि जारी मधेस आन्दोलन टुंग्याउन मरि मेटेर लागेका छन् । नयाँ संविधान जारी हुनु अगाडी प्रचण्ड नै भारतको भ्रमण गरेर उच्चस्तरीय भेटघाट गरेका थिए । नयाँ संविधानको अन्तिम मस्यौदा तयार भएपछि अन्य सभाषद आफ्नो निर्वाचन क्षेत्र फर्किए, तर प्रचण्ड सोझै भारत भ्रमण लागे । उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग उच्चस्तरीय भेटघाट गरेर स्वदेश फर्किए ।
असोज ३ गते देशले नयाँ संविधान पनि पायो तर संविधानकै विषयले मधेसमा आन्दोलन सुरु भयो, उल्टै भारतले नाकाबन्दी लगायो, अहिले देशको अवस्था मानव संकट उत्पन्न हुने अवस्थामा पुगेको छ ।
असोज ३ गते देशले नयाँ संविधान पनि पायो तर संविधानकै विषयले मधेसमा आन्दोलन सुरु भयो, उल्टै भारतले नाकाबन्दी लगायो, अहिले देशको अवस्था मानव संकट उत्पन्न हुने अवस्थामा पुगेको छ ।
यो बिचमा प्रचण्डले भारतका विरुद्ध निक्कै चर्का भाषण गरेका छन् । तर, उनले संविधान जारी हुन अगाडी भारतीय पक्षसँग के कुरा भएको थियो, भारतको चाहना के थियो, उ किन यसरी आयोे भन्नेबारे भने मुख खोलेका छैनन् ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले शनिबार मात्र बोलेँ, ‘नेपाली नेता भारतमा गएर सम्झौता गर्ने, वचन दिने तर नेपालमा आएर पूरा नगर्दा अहिलेको समस्या उत्पन्न भएको हो ।’ उनको भनाई, संविधान जारी हुनु अगाडी भारत भ्रमण गर्ने एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवामाथि सोझै जान्छ । उनीहरु भारतले के चाहेको हो भनेर मुख खोल्न भने तयार नै छैनन् ।
कठोरताको उच्च बिन्दूमा भारत
भारतले नाकाबन्दी लगाएको दुई महिना नाघि सकेको छ । यो बिचमा भारतको यति धेरै विरोध भएको छ कि जुन विश्वभर छर्लंगै नांगो भईसकेको छ । राष्ट्रसंघले पटक-पटक नाकाबन्दी खोल्न र पारवहन अधिकारको सुनिश्चितता गर्न आग्रह गरेका छ । नेपालले इन्धनका लागि उत्तरी छिमेकी राष्ट्र चीनसँग कोल्टे फेर्ने अन्तिम प्रयास गरिरहेको छ, अब व्यापारिक सम्झौता भएमा ५० वर्षसम्मको एकाधिकारको अन्त्य हुनेछ । भारतीय नाकाबन्दीका विरुद्ध विश्वभर नै छरिएर रहेका नेपालीहरुले विरोध गरिहेका छन् । भारतमा नै प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपामा विरोध छ । यद्यपी, भारत झनै कठोर देखिएको छ । उसले हत्तपत्त नाका खोल्ने कुनै संकेत नै दिएको छैन ।
अहिले सबैतिर एउटै प्रश्न छ- आखिर भारतले के चाहेको छ ? तर मुख्य नेताहरुले यो विषयमा स्पष्टसँग बोल्न सकेका छैनन् । मात्र भन्छन्, 'हामी झुक्ने छैनौं '। यसअघि भारतले आफ्ना मिडियामार्फत आफूले चाहेको कुरा खुलासा गरेको थियो । जो प्रत्यक्ष तराईमा आन्दोलन गरिरहेका मधेसवादी दलका मागसँग सम्बन्धित छन् । अतः भारतले तराई क्षेत्र कालान्तरमा आफ्नो पकड र पहुँचमा हुने गरी सरकार र मधेसवादी दलसँग सम्झौता गराउन खोजिरहेको छ । उसले मधेस क्षेत्रका धेरै भन्दा धेरे प्रतिनिधि केन्द्रमा ल्याउन चाहन्छ । त्यस्तै उसले कोसी कर्णाली नदी कुनै हालतमा तराई प्रदेशबाट अलग गराउन चाहेको छैन । तर, नेपालमा अहिले राष्ट्रियताको लेभल उच्च छ, यस्तो बेला जसले राष्ट्रियता हित विपरित काम गर्छ उ जनताबाट अलग्गिने निश्चित जस्तै छ, त्यसैले समस्या झन् बढीरहेको हो ।
कमजोरी हाम्रै नेताको
प्रत्यक्ष रुपमा भारतले नेपाललाई अप्ठ्यारोमा पारेर लाभ लिन खोजेको स्पष्ट छ । तर, नेपालका राजनीतिक दल एक ठाउँमा उभिन नसक्नु सबै भन्दा ठूलो समस्या हो । नेपाली कांग्रेस भारतीय पक्षको गुलाम गर्न पछि हटेको छैन । नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीसहित साना दलहरु राष्ट्रिय संकट हल गर्न एक ठाउँमा उभिनु हो भने यो संकट समाधान टाढा छैन ।
प्रकाशित मिति:
November 29, 2015