तरकारी भाउले आकाश छोयो, गोलभेँडा दोब्बर भाउमा बिक्रि
काठमाडौं १९ कात्तिक
पछिल्लो पटक बजारमा तरकारीको भाउ महंगिएर आकाश छुने अवस्थामा पुगेको छ । धेरै किसिमका फलफुल तथा तरकारीको भाउ दोब्बरको हाराहारीमा मूल्य वृद्धि भएको पाइएको छ ।
गत एक महिनाको तुलनामा गोलभेंडाको थोक मूल्य दोब्बरले वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गोलभेंडाको मूल्य एक महिनाको तुलनामा दोब्बरले वृद्धि भएको हो । एक महिनाअघि ठूलो गोलभेंडाको मूल्य प्रतिककेजी ४७ रुपैयाँका दरले रहेकोमा गत शनिबार ९२ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको छ । जुन गत एक महिनाको तुलनामा झन्डै दोब्बर हो ।
त्यस्तै गत असोजमा प्रतिकेजी २२ रुपैयाँका दरले कारोबार भएको सानो गोलभेंडा शनिबार प्रतिकेजी ७४ रुपैयाँका दरले कारोबार भएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ । यो झन्डै तेब्बर बढीले भएको मूल्य वृद्धि हो । एक महिनाको तुलनामा भएको यस किसिमको मूल्य वृद्धिले उपभोक्ता भने मारमा परेका छन् । यस्तो मूल्य वृद्धिसम्बन्धी उपभोक्ताले आलोचनासमेत गर्ने गरेका छन् । काठमाडौंमा बस्दै आएका दाङका रमेश केसीले शुक्रबार आफूले गालभेंडा खरिद गर्न गएको पीडा सुनाए ।
उनले बजारमा गोलभेंडाको मूल्य निकै महँगो रहेको बताउँदै गोलभेंडाको मूल्यमा मासु नै खरिद गर्न सकिने बताए । यसरी गोलभेंडाको मूल्य वृद्धि हुनुमा व्यापारीको मनोमानी हुन सक्ने उनको भनाइ छ । ‘अहिले त के हो यस्तो गोलभेंडा त निकै महँगो पो छ,’ उनले भने, ‘किन्नै गाह्रो भएको छ, व्यापारीहरूले आफूखुसी मूल्य बढाएका हुन सक्छन्, बजार अनुगमन गर्न जरुरी छ, ।’
कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार गोलभेंडाको खुद्रा मूल्य १ सय १० देखि १ सय २० रुपैयाँ रहेको छ । अझ खुद्रा बजारमा गोलभेंडाको मूल्य १ सय ५० सम्म पनि हुने गरेको उपभोक्ताको गुनासो छ । बजार अनुगमनको जिम्मा पाएको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निरन्तर बजार अनुगमन भइरहेको जानकारी दिएको छ ।
विभागका निर्देशक लक्ष्मण श्रेष्ठले शनिबार राजधानी दैनिकसँग कुरा गर्दै विभागले निरन्तर अनुगमन गरिरहेको बताउँदै सबै ठाउँमा अनुगमन टोली पुग्न नसक्ने तर्क गरे । त्यस्तै राजधानीलगायत काठमाडौं उपत्यकामा प्याज, गोलभेंडालगायतका अन्य तरकारीको मूल्यसमेत एक महिनाको अन्तरालमा निकै वृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।
प्रकाशित मिति:
November 05, 2017