गोरखामा बाबुरामबारे नारायणकाजीले नसोचेको नतिजा ! कांग्रेस भने जिल्लामा शून्य
गोरखा मंसिर २४ ।
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा २ मा यस्तो सोचेका थिएनन्, उनले त सोचेका थिए– ‘बाबुराम भट्टराईलाई हराउन सक्छु ।’ तर उनले नसोचेको नतिजा आईदियो । अन्त्यमा भट्टराई नै विजयी भए ।
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक विजयी हुँदा श्रेष्ठ भने लगातार दोस्रो हार बेहोर्नु पर्यो ।
नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बनेका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठलाइ हराएनन् मात्र उनले ह्याट्रिक समेत गरे ।
यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरे । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि गोरखा २ मा उम्मेदवारीका विषयमा भट्टराई र श्रेष्ठबिच विवाद रह्यो । त्यहीँ विवादका कारण भट्टराइ वाम गठबन्धनबाट समेत बाहिरिए । अन्तिममा दुवैले गोरखा २ मा एक आपसमा भिडेका थिए ।
चीनकाजीलाई हराए हरिराजले
गोरखा–१ मा नेपाली काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले पराजित गरेका छन् । कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गरे ।
गोरखामा कांग्रेस जिरो
गोरखा दुईमा नयाँ शक्तिका भट्टराई एकमा माओवादी केन्द्रले जित हासिल गरेपछि गोरखामा प्रतिनिधिसभातर्फ कांग्रेस भने शून्य बनेको छ । भट्टराईलाई कांग्रेसले समर्थन गरेपनि उनी आफ्नै चुनाव चिह्न लिएर चुनाव लडेकाले कांग्रेस शून्य बनेको हो ।
प्रकाशित मिति:
December 10, 2017