भदौ २१ (रासस) – दधिकोट तर्खगालका बासिन्दाले खानेपानीको समस्या समाधानका लागि पानीभकारी बनाएका छन् ।
भकारीमा पानी जमाउन पानी बग्ने खोल्सामा तार जाली र ढुङ्गाको पर्खाल लगाइएको छ । पर्खालसँगै खाल्डो खनेर रातो माटो राखी पानी बग्न नदिन पर्खालमा बाक्लो प्लास्टिक राखिएको छ । यसले गर्दा पानी छेकेर पर्खाल अगाडि जम्मा भई पोखरी बन्छ र पानी जमिनमा सोसिन्छ ।
यसरी सोसिएर जमिनमुनि गएको पानी तल्लो भेगमा मुहान फुटी पानी आउने गरी बायोइन्जिनियरिङ प्रविधिअनुसार निर्माण गरिएको अनन्त सेवा गुठीका सचिव सागर रिसालले बताउनुभयो । भकारीमा एक पटकमा ८३ हजार लिटर पानी जम्मा हुने बताइएको छ ।
भकारीका कारण तल्लो भेगको भूक्षय पनि नियन्त्रण हुने विश्वास गरिएको छ । सो प्रविधि सफल भएमा तर्खगालका करिब १५० घरधुरी लाभान्वित हुने देखिन्छ ।
अनन्त सेवा गुठी र अनन्त लिङ्गेश्वर सामुदायिक वनको सहकार्यमा अनन्त लिङ्गेश्वर सामुदायिक वनमा पानीभकारी निर्माण गरिएको हो । जिल्लाकै पहिलो र नमुनाका रुपमा रहेको पानी भकारी निर्माणका लागि काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको समूहले प्राविधिक सहयोग गरेका छन् ।
पानी भकारी बनाउन रु एक लाख डा केशवमान बज्राचार्यबाट र रु ३० हजार जिल्लाका ज्येष्ठ पत्रकार भैरव रिसालबाट उपलब्ध भएको छ ।
उनीहरुकै सक्रियतामा स्थानीयवासीबाट रु ७० हजार गरी रु दुई लाख जम्मा भइसकेको अनन्त सेवा गुठीका कोषाध्यक्ष अमृतबहादुर थापाले जानकारी दिए ।