जेठ २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सहमति गर्ने तर त्यसमा अडिग नरहने एमाओवादी प्रवृत्तिका कारण निर्वाचनको मिति घोषणा हुन नसकेको बताएका छन् ।
पहिल्यै सहमत भइसकेको थ्रेसहोल्ड (मत सीमा) का बारेमा अनावश्यक विवाद सिर्जना गरेर एमाओवादीले सहमतिको वातावरण बिगारेको समेत नेता केसीले आरोप लगाए ।
सदरमुकाम बिदुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस नेता केसीले सहमति गर्ने बेलामा फरक मत नराख्ने अनि बाहिर आएपछि विरोध गर्ने प्रवृत्ति त्याग्न एमाओवादीलाई सुझावसमेत दिए ।
त्यसक्रममा नेता केसीले मुलुकमा निर्वाचनको विकल्प नरहेको बताउँदै लामो समयसम्मको राजनीतिक शून्यता मुलुकले थेग्न नसक्ने बताए ।
अर्को एक प्रसङ्गमा नेता केसीले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको क्षमता वृद्धिको नाममा भइरहेको विरोधका कारण आयोजनाको काम प्रभावित हुन नहुनेमा जोड दिए ।
क्षमता वृद्धिका नाममा आर्थिक चलखेल भए सम्बन्धित निकायले त्यसको छानबिन गर्नुपर्ने भन्दै केसीले काम प्रभावित हुँदा नुवाकोट र रसुवाको मात्र नभई समग्र मुलुककै आर्थिक समृद्धिको आधार खल्बलिनेतर्फ सबै सचेत हुनुपर्ने बताए ।
Powered by Blogger.
एकीकृत माओवादी चुनाव चाहिरहेको छैन् : नेता केसी
प्रकाशित मिति:
June 05, 2013