राप्रपामा विवाद, चन्दद्वारा अध्यक्षको घोषणा
काठमाडौँ, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोकेन्द्रबहादुर चन्दले आफू आजदेखि पार्टीको अध्यक्ष भएको घोषणा गरेका छन् ।
राप्रपाको केन्द्रीय कार्यालय चारुमति विहारस्थित चाबहिलमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अवकाश लिएपछि सहमतिको आधारमा आफू पार्टीको अध्यक्ष भएको घोषणा गरेका हुन् ।
उनले पार्टीका चारजना नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीले एक÷एक वर्ष पार्टीको नेतृत्व गर्ने सहमति भएअनुसार आफू पार्टी अध्यक्ष भएको दाबी गरे ।
नवघोषित अध्यक्ष चन्दले महाधिवेशनको समयमा भएको सहमतिअनुसार पहिलो वर्षको नेतृत्व सूर्यबहादुर थापाले गर्ने र त्यसपछि लोकेन्द्रबहादुर चन्दले गर्ने भनेर सहमति भएअनुसार आफू विधानसम्मत अध्यक्ष भएको समेत दाबी गरे ।
पार्टीको अध्यक्ष घोषणा गर्ने सो कार्यक्रममा राप्र्रपाका पूर्वअध्यक्ष सूर्यबहादुर थापा र पशुपतिशमशेर जबरा पक्षधरका नेता तथा कार्यकर्ताको उपस्थिति थिएन ।
प्रकाशित मिति:
June 02, 2014