हिमालको काखमा अवस्थित 'नगरकोट'

यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ। यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ।
यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन्। नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ।
नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन्।नगरकोट भक्तपुर जिल्लाको एउटा गाउँ विकास समिति रहे पनि मुख्य पर्यटकीय स्थल भने काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाधमा रहेको छ,पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको संगम रहेको छ ।
प्रकाशित मिति:
July 23, 2017